रविले क्लिन चिट पाउने प्रक्रिया बल्ल हिरासतबाट सुरु भयो

दिलनिशानी मगर
रवि लामिछानेलाई दोहोरो राहदानी काण्डमा प्रचण्डले जोगाई दिएका थिए । तर, सहकारी काण्डमा केपी ओलीले जोगाई दिन सकेनन् । भएको यही हो ।

आफूले काण्डमाथि काण्ड थप्दै हिड्ने तर, जोगाई दिनुपर्ने अरुले । आफ्नो स्वास्नीलाई आफैले जोगाउनु पर्छ, छरछिमेकलाई दोष दिन मिल्दैन । भात आफूले खाएपछि आची पनि आफैले गर्नुपर्छ । बालुवाटारमा नेताहरूसँग चोचोमोचो मिलाएर न्याय पाइँदैन । न्याय पाउनको लागि त न्यायाधीशहरूसँग सिधा कुरा गर्नुपर्छ ।

कुनै नेता, मन्त्री वा प्रधानमन्त्रीको हस्ताक्षरले कोही जेल जाँदैन । जेल जानको लागि त न्यायाधीशको हस्ताक्षर चाहिन्छ । केपी ओलीले दुर्गा प्रसाईंलाई जेल हाल्न सकेनन् । प्रसाईं धरौटीमा फुत्त निस्किए । मिडिया उद्योगी कैलाश सिरोहियालाई रविले जेल हाल्न नसकेकै हो । सिरोहिया हेलिकप्टरमा उडे । रविको गल्ती छैन भने कसैले पनि जेल हाल्न सक्दैन । बरु रविले क्लिन चिट पाउने प्रक्रिया बल्ल पोखराको प्रहरी हिरासतबाट सुरु भएको छ ।

त्यसैले रविले उच्च मनोबलका साथ कानूनी लडाइँ लड्नु पर्छ । सडकमा मान्छे उतारेर डर देखाउने काम गुण्डाहरूको हो । राजनेताले त्यसो गर्दैन ।

१२ वर्ष जनयुद्ध लडेर केही नभएको देशमा चार दिन भेडा उफ्राई गराउनु भनेको जग हँसाई मात्र हो । २१औं शताब्दीमा मानिसहरूको संख्याको कुनै अर्थ छैन । हामीलाई विचारहरूको संख्या चाहिएको छ । दोकानबाट चामल चोरेर खाएको आरोपमा गरिबका छोराछोरीहरू जेलमा छन्, रविमाथि त करोडौं ठगेर खाएको आरोप छ । केपी ओली १४ वर्ष जेलमा बस्दा प्रशस्त पानी पिउन पाएनन् । अनि किड्नी बिग्रियो । हिरासतमा थरीथरीका भोजन र मिनरल वाटर खान पाएर रविको बुद्धि नबिग्रियोस् ।

संदिग्ध पात्रहरू सबै यसरी नै पक्राउ पर्नुपर्छ । तर, जुडुवा भाइहरूमध्ये कुन अगाडि पक्राउ पर्छ र कुन पछाडि पक्राउ पर्छ भन्ने कुरा परिणामको जोखिममा भर पर्छ । त्यो किन पक्राउ नपरेको त भन्नु केवल भावनात्मक तर्क मात्रै हो ।

प्रचण्डले बेलाबेलामा म माथि खतरा छ भन्नुको कारण पनि यही हो । रविले ‘मलाई मार्न पनि सक्छन्’ भनेका छन् । यसबाट प्रष्ट हुन्छ यिनीहरू राजनीतिज्ञ हैनन्, गुन्डागर्दी हुन् । सयौं वर्षदेखि देशलाई यसरी नै भड्खालोमा हालिरहेका छन् । आनुवंशिक प्रवृत्तिका कारण उनीहरू शासन गर्ने क्षमतामा असफल भएका छन्, जसले उनीहरूलाई केवल युद्ध र द्वन्द्वमा मात्र ध्यान केन्द्रित गर्न प्रेरित गर्दछ ।

Published : Sunday, 2024 October 20, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया