भालुबाङमा ८ वर्षीया बालिका बलात्कृत भएको १२ दिन, इन्स्पेक्टर माझीले सिन्को भाँच्न सकेनन्

मसुरिया । दाङको भालुबाङस्थित पुल्चोक बजारमा आठ वर्षीया बालिका बलात्कार भएको १२ दिन बितिसक्दा समेत इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख (इन्स्पेक्टर) अमरबहादुर माझीले सिन्को भाँच्न सकेका छैनन् ।

सशस्त्र प्रहरी बल नेपालको क्याम्प नजिकै असोज २४ गते साँझ ८ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । अनुसन्धानका लागि एकजना युवती पनि पक्राउ परेकी छिन् । तर, मुख्य अभियुक्तलाई प्रहरीले कठालो समात्न सकेको छैन ।

भालुबाङको पुल्चोक बजारमा डेरा गरेर आमासँगै बस्दै आएकी ८ वर्षीया बालिका दशैँको बेला बलात्कृत भएकी थिइन् । बालिकाको मेडिकल परीक्षण हुनुका साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार समेत भएको छ ।

बालिकाकी आमाले न्यायका लागि हारगुहार गरिरहेकी छिन् । इन्स्पेक्टर माझीले बलत्कारका आरोपीलाई पक्राउ गर्न सकेका छैनन् ।

पीडित पक्षले ८ वर्षीया बालिकालाई पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल नेपालमा कार्यरत प्रहरी कर्मचारीहरूमध्ये एकजनाले बलत्कार गरेको दाबी गर्दै आएका छन् । तर, प्रहरी निरीक्षक माझीले सशस्त्र प्रहरीलाई अनुसन्धानको दायरामा ल्याउन सकेका छैनन् ।

इलाका प्रहरी कार्यालय भालुबाङका इन्स्पेक्टर माझीले अन्य शंकास्पद व्यक्तिलाई पनि पक्राउ गर्न सकेका छैनन् । ८ वर्षीया बालिका बलात्कृत भएको घटनालाई इन्स्पेक्टर माझीले निर्मला पन्त प्रकरण बनाउने हुन की भन्ने आशंका पीडित पक्षको छ ।

पुल्चोक बजारका स्थानीयले दोषीलाई कारबाहीको माग गरेर संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन शुरु गरेका छन् । तीन दिनदेखि ८ वर्षीया बालिकाको न्यायका लागि सडक आन्दोलन भइरहेको छ । अहिलेसम्म इन्स्पेक्टर माझीले सिन्को भाँच्न सकेका छैनन् । इन्स्पेक्टर माझीलाई हटाएर अर्को इन्स्पेक्टर ल्याएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि उठ्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले पनि ८ वर्षीया बालिका बलात्कृत भएको घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लागेको छ ।

बालिकालाई न्याय माग गरेर संघर्ष समितिले सोमबार पुल्चोक बजारमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले करीव १ घण्टा सडक अबरुद्ध बनाएका छन् । शनिबारदेखि बालिकाको न्यायका लागि सडक आन्दोलन भइरहेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय भालुबाङमा पनि घेराउ गर्दै आएका छन् ।

Published : Monday, 2024 October 21, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया