भिस्ताराको जहाजमा बम रहेको सूचनापछि सेनाद्वारा सर्च

काठमाडौं । भिस्तारा एयरको जहाजमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाले जहाजमा सर्च गरेको छ ।

मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भारतीय कम्पनीको जहाजलाई सेनाको बम डिस्पोजल टोलीले सर्च गरेको हो । सेनाले यो समाचार तयार पार्दासम्म कुनै पनि शंकास्पद बस्तु फेला पारेको छैन ।

भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको जहाजमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य गरेको छ ।

सेनाका प्रवक्ता गौरवकुमार केसीले भिस्तारा एयरको जहाजमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको बताएका छन् ।

यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताएका छन् ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको जहाजमा बम राखेको फोन नयाँदिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । त्यसपछि लगेज र कार्गोको चेक गरिनेछ ।

काठमाडौं विमानस्थलको उडान–अवतरण भने रोकिएको छैन । भिस्ताराको जहाज नजिक अन्य जहाजलाई पार्किङ गर्न दिइएको छैन ।

जहाजमा १५७ जना यात्रु सवार थिए । सुरक्षाको दृष्टिकोणले यात्रुहरूलाई सुरक्षित तरिकाले झारिसकिएको छ ।

भिस्टाराको सुरक्षा संयन्त्रमा वाट्सएप कल मार्फत् बम रहेको जानकारी आएको थियो ।

Published : Tuesday, 2024 October 22, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया