धार्मिक सद्भाव भड्काउने गतिविधि गर्ने राई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साईबर व्यूरोले धार्मिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको अभियोगमा ४२ वर्षीय नयन्द्रकुमार चाम्लिङ राईलाई पक्राउ गरेको छ ।

राईले सामाजिक सञ्जालमार्फत क्षत्री–बाहुन, हिन्दु धर्मावलम्बीविरुद्ध आपत्तिजनक तथा भड्किलो धार्मिक अभिव्यक्ति दिएका थिए ।

खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ निवासी राईलाई पक्राउ गरेको व्यूरोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगोल नेशनल अर्गजनाइजेशनका नेता समेत रहेका राईलाई इलाका प्रहरी कार्यालय धरानको समन्वयमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।

व्यूरोको टोलीले सामाजिक सञ्जाल निगरानीका क्रममा राईले युट्युब र फेसबुकसहितमा प्लाटफर्ममा धार्मिक संहिष्णुता खलबलिने, घृणा र द्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भेट्टाएको थियो ।

राईले विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको भेटिएको अवस्थीले शुक्रबार जनाएका छन् ।

राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको बताए । राईलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Published : Friday, 2024 October 25, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया