आईजीपी कुँवरद्वारा खेलाडीहरूलाई पुरस्कार वितरण, गण्डकी प्रथम
काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजीपी रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।
उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, प्रतियोगितामा सहभागी भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरू एवम् प्रतियोगिता संचालनमा सहयोग पुर्याउने महानुभावहरूलाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गरेका छन् ।
फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रथम भएको छ ।
कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने बताए ।
उनले विगतदेखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पु¥याएको बताए ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरेका छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टिमका खेलाडी तथा अफिसियलहरूलाई ट्रफि, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताका उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरेका छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेका छन् ।
खेलकुद कार्यक्रम व्यवस्थापन उप–समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक ओमप्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद १ लाख १ हजार रूपियाँ र ५१ हजार रुपियाँ एवम् ट्रफि, मेडल, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रूपियाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रूपियाँ प्रदान गरिएको थियो ।
कात्तिक ७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया