नेकपा (एकीकृत समाजवादी) ललितपुरका जिल्ला कमिटी सदस्य कांग्रेसमा प्रवेश, राणाद्वारा स्वागत

लगनखेल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद उदयशम्शेर राणाले नेकपा (एकीकृत समाजवादी)का ललितपुर जिल्ला कमिटी सदस्यलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटी सदस्य अर्जुन केसीलाई नेता राणाले कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरेका हुन् ।

केसी नेकपा (एमाले) गोदावरी नगरपालिका वडा नम्बर–१३ का गाउँ कमिटीका पूर्व अध्यक्ष पनि हुन् । उनी नेकपा (एकीकृत समाजवादी) ललितपुरको जिल्ला सदस्य परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्वअर्थराज्यमन्त्री समेत रहेका नेता राणाले केसीलाई कांग्रेसमा स्वागत गर्दै संगठन निर्माणमा लाग्न निर्देशन पनि दिएका छन् ।

नवप्रवेशी केसीलाई सभापति जितेन्द्र श्रेष्ठले नेपाली कांग्रेस ललितपुरको जिल्ला सदस्य पदमा मनोनीत पनि गरेका छन् ।

नेता राणाले भने, ‘नेपाली कांग्रेसमा अर्जुन केसीजीको आगमनले हाम्रो टोलीलाई थप ऊर्जा र सशक्त बनाउने विश्वास छ ।’

पार्टी प्रवेश कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी लगायतका ललितपुर कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 November 1, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया