पूर्वप्रहरी ‘वीरे’लाई खुकुरी प्रहार, एक महिना अगाडिको बदला लिएको आशंका
घोराही । दाङमा पूर्वप्रहरी वीरबहादुर वली ‘वीरे’लाई खुकरी प्रहार भएको छ ।
बिहीबार तुलसीपुरमा वलीलाई अपरिचित समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख (डीएसपी) अनिल ठकुरीले बताए ।
वलीको हातको पाखुरा लगायतका ठाउँमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ । घाइते वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।
वली केही महिनाअघि राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ४ स्थित अस्थायी प्रहरी पोष्ट गोठी खोलामा कार्यरत थिए ।
एक महिनाअघि स्थानीय व्यवसायीलाई खुकुरी प्रहार गरेको वलीमाथि आरोप थियो । त्यसबेला घाइते युवकले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएका थिए । वली पक्राउ परेका थिएनन् ।
घटनापछि रूकुम पश्चिम घर भएका वली उतै गएका थिए । वली तुलसीपुर फर्किएको मौका छोपेर अपरिचित समूहले बिहीबार दिउँसो खुकुरी प्रहार गरेको छ ।
बदलाका लिन पूर्वप्रहरी वलीमाथि खुकुरी प्रहार भएको जस्तो देखिएको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा आशंका गरेको छ ।
अवकासमा जानुभन्दा अगाडि वलीले त्यतिखेर पनि अनाहकमा ती युवकमाथि खुकुरी प्रहार गरेको प्रहरीको आशंका छ ।
घटना अनुसन्धानका लागि प्रहरीले दुई जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ । उनीहरूको घटनामा कुनै संलग्नता नभएको स्थानीयले बताएका गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया