सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई बुटवल लैजाने तयारी, संगठित अपराधमा अनुसन्धान
काठमाडौं । सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई प्रहरीले पोखराबाट बुटवल लगेर बयान लिने तयारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ । लामिछाने कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछानेलाई मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन बुटवल लैजाने तयारी छ । म्याद थप भएमा छठ पर्वपछि उनलाई बुटवल लगेर बयान लिने प्रहरीले गृहकार्य गरेको छ ।
बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते सभापति लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपियाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहा कार्यलय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।
२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन् । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया