रेड नोटिसपछि राउत कुवेतमा पक्राउ, प्रहरीले काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका राउतलाई पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका राउतलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका राउतलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते राउतविरूद्ध रेड नोटिस जारी भएको थियो ।

राउतलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Tuesday, 2024 November 5, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया