अभियुक्त लामिछानेलाई बचाउन भाडाका मानिस परिचालन, पोखरामा मासु-भात-होटलको व्यवस्था

पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बचाउन भन्दै भाडाका मानिसहरूले पोखरामा उत्पात मच्चाएका छन् ।

मंगलबार पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका भाडाका मानिसहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको हो । अराजक गतिविधि गर्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने ती भाडाका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

अभियुक्त लामिछानेको पक्षमा विरोधमा उत्रिएका भाडाका मानिसहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दै कानून हातमा लिन खोजेपछि प्रहरीले शान्ति सुरक्षा कायम गर्न सामान्य बल प्रयोग गरेको छ ।

भाडाका मानिसहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर प्रहरीसँग धकेलाधकेल भएको छ ।

सहकारीको रकम ठगका अभियुक्त लामिछाने बचाउन भनेर रास्वपाका केही नेताहरूले विभिन्न जिल्लाबाट भाडामा मानिसहरू पोखरामा ओरालेका छन् । प्रदर्शनमा आउने मानिसहरूलाई भत्ता, खाना, खाजा, होटलमा बस्नको लागि खर्चको व्यवस्था भएको एक नेताले बताएका छन् । अभियुक्त लामिछानेलाई बचाउन प्रदर्शनमा उत्रिएकाहरू रास्वपाका कार्यकर्ता होइनन् । किन भने प्रदर्शनमा उत्रिएकाहरूले रास्वपाको झण्डा बोकेका छैनन् । उनीहरूले राष्ट्रिय झण्डा बोकेका छन् ।

लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको प्रहरी र न्यायालयलाई दवावमा पारेर अनुसन्धानलाई प्रभावित बनाउन भाडाका मानिसहरू ओरालेको आरोप लागेको छ ।

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भैरहेको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

रूपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि लगिनेछ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले लामिछानेलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिनेछ ।

Published : Tuesday, 2024 November 5, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया