कांग्रेस क्षेत्र नं. २ मा १०० दिने अभियानको पूर्वतयारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ ले नेताहरूसँग पूर्वतयारीका विषयमा छलफल गरेको छ ।

काठमाडौंमा मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा अभियानलाई सफल बनाउन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएको क्षेत्रीय सभापति कवीर शर्माले बताए । उनले पार्टीको संगठन बलियो बनाउने विषयमा सबैको सहयोग रहने बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई गाउँ, टोलदेखि बलियो बनाउनुपर्ने र त्यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहने बताए । उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताको विशेष योगदान हुने बताएका छन् ।

काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँले पनि कांग्रेसको १०० दिनको अभियानले पार्टीलाई मजबुत बनाउने बताएका छन् । उनले १०० दिनको अभियानले नेता कार्यकर्तामा उर्जा थपिनेमा आफू आशावादी रहेको बताए ।

वडादेखि पार्टीलाई क्रियाशील बनाउने, नागरिकको मूलभुत समस्या, क्रियाशील सदस्यता नवीकरणको विषयमा १०० दिने अभियानमा काम अगाडि बढ्नेछ ।

बैठकमा पूर्वसांसद दीपक कुइंकेल, नगरप्रमुख उपेन्द्र कार्की, काठमाडौं कांग्रेसका सचिव गोविन्द पुडासैनी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उनीहरूले पनि पार्टीलाई बलियो बनाउन अभियानले सहयोग गर्ने बताएका छन् ।

नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. २ की सभापति अमला थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य दीपेन्द्र पोखरेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष चौलागाईंले पनि १०० दिनको अभियान सफल बनाउन आफूहरूले सहयोग गर्ने बताएका थिए ।

Published : Tuesday, 2024 November 5, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया