सामाजिक सञ्जालबाट हुने ठगीप्रति सचेत रहन ब्यूरोको जोडदार अपील
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाइबर, ईमो लगायतका माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभनमा पारेर ठगी कार्य बढेको भन्दै सचेत रहन अपील गरेको छ ।
शुक्रबार ब्यूरोले विज्ञप्ति जारी गरेर बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल लगायतबाट ठगी बढेको जनाएको छ ।
चिठ्ठा परे बापत बैङ्क तथा बित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण वा अपडेट गर्नुपर्नेछ भनि व्यक्तिगत विवरण माग गरेर ठगी गर्ने गरेको ब्यूरोले जनाएको छ ।
एकाउन्ट नम्बर, जन्ममिति, ओटीटी, ठेगाना लगायतका गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा स्क्यामर, ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरि विभिन्न माध्यमबाट निकाली अनलाईन ठगी गर्ने गरेको उजुरीहरू बढेको ब्यूरोले जनाएको छ ।
केहि दिनदेखि ब्यूरोको कार्यालयमा प्राप्त भइरहेको हुँदा त्यस्ता शंकास्पद, अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन ब्यूरोका कार्यालय प्रमुख (एआईजी) दीपक थापाले अनुरोध गरेका छन् ।
यस्ता अनलाईन ठगी, बैंकिङ ठगी कसूरबाट बच्नको लागि सर्वसाधारणको जानकारीको लागि सामाजिक सञ्जाल र सोसल नेटवर्कका साईटबाट सुसूचित गराई सहयोग गरिदिन ब्यूरोले आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया