फरार भनिएका दीपक मनाङ्गेको भावनात्मक अभिव्यक्ति
काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य एवम् प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले अदालतको फैसलाको सम्मान गर्दै आत्मसमर्पण गर्ने जनाएका छन् ।
प्रदेश सभा सदस्य गुरुङले शुक्रबार विज्ञप्ति जारी गरेर सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । उनले सर्वोच्चको फैसला प्राप्त नगरेको बताए ।
‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, प्रदेश सभा सदस्य गुरुङले भनेका छन् ।
‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानून व्यवसायीमार्फत थाहा पाएको हुँ’, उनले भने ।
‘अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’, प्रदेशका पूर्वमन्त्री गुरुङले भने ।
फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको उनले बताएका छन् ।
‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छ’, उनले भने, ‘यसमा मेरो आपति छ ।’
प्रदेश सभा सदस्य समेत रहेका प्रदेशका पूर्वमन्त्री गुरुङविरुद्ध निरन्तर जाथाभावी समाचार आइरहेपछि विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया