सांसद गुरुङद्वारा मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग परामर्श, चामे-खाङसार सडकको स्थलगत निरीक्षणपछि
चामे । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग गरेका छन् ।
पूर्वराज्यमन गुरुङले स्थानीय तहका जनप्रतिनिधिसहित सडक बिभाग र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पूर्वाधार विकास कार्यालय मनाङका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
जिल्ला भ्रमणका क्रममा सांसद गुरुङले ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, उपाध्यक्ष छिरिङ गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कमलकुमार अधिकारी, निर्देशक राम पराजुली, सडक डिभिजन कार्यालय दमौलीका अमित बराल, पूर्वाधार विकास कार्यालय मनाङका प्रमूख हरि थापा लगायतसँग चामे–खाङसार सडकको स्थलगत निरीक्षणपछि स्तरोन्नतिका विषयमा परामर्श गरेका हुन् ।
चामेदेखि माथिल्लो मनाङ हुँदै खाङसारसम्मको सडक स्तरोन्नतिका विषयमा छलफल भएको सांसद गुरुङले बताए । चामे र ङिस्याङ गाउँपालिकाको सिमाना तलेखुदेखि खाङसारसम्मको सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको छ ।
तलेखुदेखि खाङसारसम्म चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट बजेट बिनियोजन भएको भन्दै सांसद गुरुङले बजेटलाई डुव्लीकेशन नहुनेगरी काम गर्न निर्देशन दिएका छन् ।
`विनियोजित बजेटअनुसार चामेदेखि खाङसारसम्मको लम्वाई धेरै छ, विनियोजित बजेटले सवै काम एकैचोटी सम्भव छैन’, सांसद गुरुङले भने, ‘जति बजेट विनियोजन भएको छ । यो रकमबाट जोखिम पूर्णस्थानलाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।’
मनाङको चामेदेखि खाङसारसम्मको सडकमा विभिन्न स्थानमा हाल पक्की सडक निर्माण भइरहेको भएपनि भार्ताङदेखि स्वर्गाद्धारीसम्मको सडक अझै जोखिमपूर्ण भएकाले सडकलाई प्राथमिकतामा राखेर काम गर्न सांसद गुरुङले निर्देशन दिए ।
भार्ताङ भीर नजिकै रहेको घुम्ती र भिरालो सडकमा अहिलेपनि धेरै सवारी साधनलाई समस्या हुने गरेको भन्दै सांसद गुरुङले सडकलाई छिटोभन्दा छिटो मर्मत गर्नुपर्ने अवस्था आएको बताए ।
ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले सडक निर्माणका लागि बजेट आउने गरेपनि स्थानीय तह र जनप्रतिनिधिहरूसँग समन्वय नगर्दा सजिलो ठाउँमा मात्रै काम हुँदै आएको भन्दै जनताको सहजताको लागि जोखिम ठाउँलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नागरिकको सहजताको निम्ती कोही कसैमा कुनै स्वार्थ नहुने भन्दै सांसद गुरुङले संघ र प्रदेशबाट विनियोजन बजेट तथा योजनालाई प्रभावकारी कार्यन्वयन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने र त्यसका लागि सहजीकरण गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
सांसद गुरुङसहितको टोलीले भार्ताङ भीरको जोखिमपूर्ण सडक र त्यसभन्दा माथिका सडकको अवस्थाको बारेमा स्थलगत अनुगमन समेत गरेको छ । मनाङको विकास निर्माणमा सडकनै मुख्य समस्या भएको भन्दै सडक व्यवस्थित बनाउन आफू लागीपरेको सांसद गुरुङले बताएका छन् ।
सडक सहज भएमा मनाङमा विकासका अन्य ढोका खुल्नुका साथै स्थानीय नागरिक र मनाङ प्रवेश गर्ने हजारौँ पर्यटकलाई पनि सहज हुने सांसद गुरुङले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया