संगठित अपराध र ठगका अभियुक्त लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई चौथो पटक अनुमति दिएको छ ।

आइतबार अदालतले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका ४ जनालाई अनुसन्धानका लागि १३ दिनको अनुमति दिएको हो । लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत ४ जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् ।

सहकारी ठगका अभियुक्त रास्वपाका सभापति लामिछानेसँगै गोर्खा मिडिया नेटवर्क प्रा.लि.का अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई पनि अदालतले १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका अभियुक्त लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

पूर्वगृहमन्त्री लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि यसपटक थप १३ दिन म्याद थप गरिएको छ ।

सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन रास्वपाका भाडाका केही नेता कार्यकर्ताहरूले पोखरामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

Published : Sunday, 2024 November 10, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया