सर्वोच्चमा दुई न्यायाधीश र दुई राजदूतहरू नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।

पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषदको सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । दुवै नेपालका लागि सम्बन्धित मुलुकमा आवासीय राजदूत हुन् ।

यसैबीच, राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदको सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले निरौला र पाण्डेयलाई आइतबार सर्वोच्च अदालतको न्यायधीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रेग्मीले बताएकी छिन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषदको सिफारिसमा निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरिएको छ ।

निरौला उच्च अदालत पाटन र पाण्डेय उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा कार्यरत रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।

Published : Sunday, 2024 November 10, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया