सात जनालाई अष्ट्रेलिया पठाउने भनेर १२ लाख खाइदिने सन्दीप र सुरज पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भनेर ७ जना व्यक्तिहरूसँग ठगी गर्ने दुई जनाको समूहलाई पक्राउ गरेको छ ।

अपराध कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सुरज खनाल र सन्दीपचन्द्र बख्रेललाई पक्राउ गरिएको छ । सुरज र सन्दीपविरुद्ध प्रहरी वृत्त जनसेवा, प्रहरी वृत्त मालिगाउँ, जिल्ला प्रहरी कार्यालय चितवन, प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएका छन् ।

सुरज र सन्दीपले मनीष अर्याल, सुधा चिमरिया, अजयकुमार महतो, विनोद शाक्य, अरविन्द्र खत्री, प्रवीण हर्बेल र श्यामकृष्ण श्रेष्ठलाई अष्ट्रेलिया पठाइदिन्छु भनेर १२ लाख रुपियाँ ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।

३४ वर्षीय सन्दीप पर्साको सुगौली गाउँपालिका वडा नं. २ रंगपुर टाडी वतन भइ हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी र ३३ वर्षीय सुरज पर्साको सुगौली गाउँपालिका वडा नं. २ रंगपुर, टाडी वतन भइ हाल ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा बस्दै आएका थिए । उनीहरूलाई प्रहरीको टोलीले कात्तिक २३ गते काठमाडौंको नक्साल, गैह्रीधाराबाट पक्राउ गरेको थियो ।

Published : Sunday, 2024 November 10, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया