हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं : सभापति देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्म जाने बताएका छन् ।

आइतबार कैलालीको धनगढी विमानस्थलमा सम्वाददाताहरूसँग संक्षिप्त कुरा गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले सरकार यो पूरै कार्यकाल टिक्ने बताए ।

सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले भने, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’

सभापति देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी आइपुगेका हुन् । कैलालीका कांग्रेसका नेता कार्यकर्ताहरूसँग पनि भेटघाट गरेका देउवा डोटीमा पनि भेटघाटहरू गरेका छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।

Published : Sunday, 2024 November 10, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया