कांग्रेस–एमालेको बागमती प्रदेशस्तरीय संयन्त्र, पहिलो बैठकबाट ६ निर्णय

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच बनेको बागमती प्रदेशस्तरीय संयन्त्रले ६ वटा निर्णय गरेको छ ।

आइतबार कांग्रेस प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले दुई दलले एक–एक महिना पालोपालो संयन्त्रको संयोजन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०८१ मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्नेछ । बैठकले संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेका तर्फबाट एकएक जना रहने पनि निर्णय गरेको छ ।

बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

संयन्त्रको बैठक महिनामा कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्नसक्ने निर्णय भएको छ ।

दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बस्ने तय भएको छ । त्यस दिन बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिइनेछ ।

बागमती प्रदेश संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति बानियाँ, कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह तामाङ, पार्टी प्रदेश कार्यसमिति उपसभापति चन्द्र महर्जन छन् ।

एमालेका तर्फबाट पार्टी प्रदेश इन्चार्ज भट्टराई, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल छन् ।

Published : Sunday, 2024 November 10, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया