महिला क्रिकेट टोलीको जितमा परराष्ट्रमन्त्री डा.राणाद्वारा खुसी व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले यूएईविरुद्धको जितमा नेपालको यू–१९ महिला क्रिकेट टोलीले जित हासिल गरेकोमा सम्पूर्ण राष्ट्रका लागि ठूलो गर्वको क्षण रहेको बताएकी छिन् ।
बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री डा.राणाले भनेकी छिन्, ‘यूएईविरुद्धको जितमा नेपालको यू–१९ महिला क्रिकेट टोलीलाई बधाई छ । जसले नेपाललाई आईसीसी यू१९ महिला टी२० विश्वकप २०२५ मा स्थान दिलाएकोमा ।’
यूएईमाथि शानदार जित निकाल्दै नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा पुगेको छ ।
बुधबार यूएईमा भएको प्रतियोगितामा नेपालले यूएईमाथि जितहात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो ।
अजमानस्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो ।
विश्वकपमा पुग्न नेपालले यस खेल १६.२ ओभरभित्र जित्नु पर्थ्यो । नेपालले १४.४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो ।
ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन् । साना प्रवीण ४२ बलमा एक चौका प्रहार ३५ र सोनी पाख्रिन १९ बलमा १३ रन बनाइ अविजित रहिन् । सानाले विजयी चौका प्रहार गरेकी थिइन् ।
कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २/२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् । यूएईबाट समिरा धरनिधरकाले ४८ बलमा ३१ रन बनाइन् ।
डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको छ । नेपालले ५ मध्येको चार खेल जितेको थियो । यूएईसँगको यसअघिको खेलमा नेपाल पराजित भएको थियो । त्यसैले यूएईविरुद्ध भइरहेको खेलमा नेपालले जितेर मात्र पुग्ने थिएन ।
नेपालले २०२७ मा बंगलादेशसँग मिलेर २०२७ को आईसीसी यू–१९ विश्वकप आयोजना गर्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया