असल नियतले अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनुपर्ने : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले असल नियतले कानूनले दिएको अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
बिहीबार नक्सालस्थित आयोगको कार्यालयमा आयोजित अन्तरक्रियामा राईले विकास निर्माण, सेवा प्रवाह, र सुशासनका लागि तीन तहका सरकारले आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने बताए ।
प्रमुख आयुक्त राईले पदीय जिम्मेवारी बहन गर्ने सबै अधिकारीहरूले कानूनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोगलाई सुनिश्चित गर्नुपर्ने बताए ।
उनले तहगत सरकारको कार्य विभाजन थप स्पष्ट बनाउनुपर्ने र जिम्मेवारी पन्छाउने तथा निर्णय नगर्ने पदाधिकारीलाई कारवाहीको व्यवस्था गर्नुपर्ने बताए ।
राईले रुग्ण आयोजना, बहुवर्षीय श्रोत सुनिश्चित गरेका आयोजना र बजेट अभावका कारण कार्यान्वयनमा नसकिएका आयोजनाहरूको अध्ययन गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यबोझका आधारमा कर्मचारी दरबन्दी पुनरावलोकन गरी राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने प्रमुख आयुक्त राईले बताएका छन् ।
उनले जिम्मेवारीपूर्वक काम गर्दा आयोग सधैँ सहयोग गर्न तत्पर रहेको आश्वासन दिएका छन् ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सुशासन कायम राख्न सबै निकायका प्रमुखहरूले निडर भएर निर्णय गर्नुपर्ने बताए ।
अर्यालले कानूनले दिएको अधिकारलाई पूर्ण रूपमा प्रयोग गरी आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् ।
मुख्यसचिव अर्यालले भने, ‘कहिलेकाहीँ काम गर्ने फस्ने र नगर्नेले केही पनि भोग्नुपर्दैन भन्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । कुनै निर्णयमा कन्फ्युजन भए पनि आपसी समन्वयमा अघि बढ्न सकिन्छ । कामै नगरी पन्छिनु हुँदैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया