काठमाडौंमा मण्डला नोर्लिङ लर्डस प्राइम लक्जरी होटल सञ्चालन
काठमाडौं । भारतीय चेन होटल कम्पनी लर्डसले काठमाडौंको महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्डस प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको छ ।
शनिबार विशेष कार्यक्रमका बीच होटल सञ्चालनमा ल्याइएको छ । सुविधासम्पन्न होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन वटा भवन रहेका छन् ।
होटलको एउटा भवनमा चाइनिज रस्टुेरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटलमा होटलमा नेपाली पर्यटन उद्योगीहरूको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा.धनन्ज्य रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार होटलमा चारतारे स्तरका सुविधाहरू रहेपनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ । होटलमा थप स्तरोन्नति गरी विस्तारै स्टार लिइने डा.रेग्मीले बताए ।
महाराजगञ्ज चक्रपथमा रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा छ । सजिलो स्थानमा रहेका कारण होटलमा बस्ने पर्यटकले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बूढानीलकण्ठ तथा ठमेलमा सहज रुपमा पुग्न सक्नेछन् ।
भारतमा दर्जनौं चेन होटल सञ्चालनमा ल्याएको लर्डले यसअघि काठमाडौंको बौद्धमा दुइटा, वीरगञ्ज, नेपालगन्ज र भैरहवामा एक÷एक वटा होटलको व्यवस्थापन गरिसकेको छ ।
आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्डस ग्रुप नेपालका एशोसियट भाइस प्रसिडेन्ट शैलज एन. तेरीले बताए ।
भाइस प्रसिडेन्ट शैलज एन. तेरीका अनुसार होटल ओपनिङ कै अवसरमा सयौं विदेशी पर्यटकहरूको बुकिङ भइसकेको छभने अन्य बुकिङका क्रममा रहेका छन् ।
होटलले अन्य विदेशीसंगै विशेषगरी चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरेको छ । मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ ।
भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टी क्विजिन) राखिएको छ ।
होटलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरू पनि छन् । तीन वटा ठूला हल निर्माणको क्रममा रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ ।
मण्डला नोर्लिङ होटलको रुपटप स्वीमिङ पुलको व्यवस्था छ । ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको रहेको होटलमा भित्री र बाहिरी पार्किङमा करिब तीन सय गाडी अटाउन सक्छ ।
होटलको भुईं तल्लामा पार्टी प्यालेस पनि हुनेछ । पछिल्लो समय नेपालमा स्तररीय होटलहरूको संख्या बढिरहेको सन्दर्भमा होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा थोरै भएपनि योगदान दिने अपेक्षा गरिएको डा.रेग्मीले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया