प्रधानमन्त्री तहबाट चीन भ्रमणको एजेण्डालाई अन्तिमरुप दिन्छौं : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको बताएकी छिन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीद्वारा आह्वान गरिएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको बैठकमा डा.राणाले प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिमरुप दिने बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताएको प्रधानमन्त्री ओलीको निजी सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
डा.राणाले प्रधानमन्त्रीको यो चीन भ्रमण सफल बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै लागिपरेको बताइन् ।
‘भ्रमण सफल बनाउन दुईवटै पार्टी लागेका छन्, म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु’, उनले भनिन्, ‘दुई दलको संयन्त्रबाट चीन भ्रमणका मुद्दामा सहमतिमा निचोडमा पुग्दैछौं ।’
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा.राणा मंसिर १३ गते बेइजिङ जाने तयारी रहेको छ । मन्त्री डा.राणाले मंसिर १४ गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया