यी १० बबाली युट्युबहरूलाई दशा लाग्यो, कारबाही गर्न काउन्सिलद्वारा साईबर ब्यूरोलाई पत्र
काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता नभएका र दर्ता भएका १० युट्युब च्यानलसहित सामाजिक सञ्जालहरूलाई कडा कारबाही गरेको छ ।
अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै काउन्सिलले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारवाही गरेको विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये अधिकांश दर्ता र सूचीकरण नगरी सञ्चालित छन् ।
मिडियाअन्तर्गत दर्ता र सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् ।
काउन्सिलले कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्दै आएको छ ।
युट्युब र फेसबुकहरूमा जथाभावी पोष्टहरू गरेर चरित्रहत्या, घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले बताए ।
मंसिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेजलाई काउन्सिलले कारवाही गरेको थियो । सोमबार विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एसोसिएसन र हट न्युज नेपाल नामक युट्युब च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको अध्यक्ष बस्नेतले बताए ।
अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाइ, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ ।
‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ’, विज्ञप्तिमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया