उद्योगसम्बन्धी दोहोरो नीतिले व्यवसायीहरू मर्कामा छन् : मन्त्री न्यौपाने
मसुरिया । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले व्यवसायीहरूलाई झन्झटिलो करको नीतिले समस्या पर्दै आएको गुनासो व्याप्त रहेको बताएका छन् ।
आइतबार उद्योग दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा मन्त्री न्यौपानेले भने, ‘तपाईहरूले स्थानीय तहमा कर, प्रदेश सरकारमा कर, अनि संघीय सरकारमा कर तिर्नु परिरहेको छ ।’
मन्त्री न्यौपानेले भने, ‘यो निकै झन्झटिलो नीति हो । एकै ठाउँमा कर तिर्ने वातावरण निर्माण गरौं । केही सहज बनाऔं भनेर हामीले भन्दै आएका छौँ ।’
उद्योगका बारेमा प्रदेश सरकारले अपेक्षित काम गर्न सहज नभैरहेको बताएका छन् ।
उनले, ‘उद्योगको सम्पूर्ण अधिकार अब प्रदेश सरकारलाई हस्तान्तरण हुन्छ भनेको ४ महिना भयो । अहिलेसम्म अवस्था पहिलेकै जस्तै छ ।’
उनले भने, ‘प्रदेशलाई पूर्ण अधिकार प्राप्त नहुँदा तपाईहरूका समस्या समाधानमा केही असहज भैरहेको सत्य हो ।’
मन्त्री न्यौपानेले उद्योगसम्बन्धी दोहोरो नीतिका कारण व्यवसायीहरू मर्कामा परिरहेको बताए । उनले दोहोरो नीतिको अन्त्य नहुँदासम्म व्यवसायीहरूका समस्या समाधान हुन नसक्ने बताए ।
मन्त्री न्यौपानेले भने, ‘क्रसर उद्योग दर्ता संघमा हुने भनिएको छ । अनि नवीकरण प्रदेशले गर्ने भनिएको छ । अहिले सबै प्रदेशमै हुन्छ । प्रदेशमै जानुस् भनेर भनिन्छ । क्रसरको पनि पूर्ण अधिकार प्रदेशलाई छैन ।’
संघले अधिकार हस्तान्तरण नगर्दा प्रदेशले केही काम गर्न सकेन भन्ने सन्देश आम जनमानसमा पर्दै गएको मन्त्री न्यौपानेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया