प्रधानमन्त्रीलाई भेट्न सहकारी ठगका अभियुक्त लामिछानेले पठाए दूत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भेट गरी सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई हिरासतमुक्त गरिदिन अनुरोध गरेका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेर प्रमुख सचेतक परियारले हिरासतमा रहेका सभापति लामिछानेको सन्देश सुनाएका छन् । परियारले आफ्नो दलका सभापति लामिछानेलाई हिरासतभन्दा बाहिर रहेर मुद्दा लड्ने सुविधा दिन आग्रह गरेको स्रोतले जनाएको छ । लामिछानेलाई हिरातमुक्त गरिदिएमा रास्वपाले सरकारलाई सहयोग गर्ने सन्देश पनि पोखराबाट परियारमार्फत प्रधानमन्त्री ओलीलाई पठाएको रास्वपाका एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले अदालतको आदेशबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर आफ्नो अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै अदालतमा मुद्दा दर्ता हुनेवित्तिकै लामिछानेको थुनछेकको बहसबाट एउटा टुङ्गो लाग्ने जवाफ दिएका छन् ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । लामिछानेविरुद्ध प्रहरीले उल्लेख्य प्रमाणहरू प्राप्त भएका छन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

लामिछानेविरुद्ध रुपन्देही, काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेसँग रुपन्देहीमा बयान भइसकेको छ । लामिछानेलाई पोखराबाट काठमाडौंमा ल्याएर बयान लिने तयारी भएको छ । त्यसपछि लामिछानेसँग चितवनमा बयान हुनेछ ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा २०८० असोज १६ गते गितेन्द्रबाबु राई (जीबी), भूपेन्द्र राई, थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

संघीय संसदले २०८१ जेठ १५ गते एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठन गरेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम अपचलनको सम्बन्धमा लामिछानेमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

यसअघि कात्तिक १२ गते पनि प्रधानमन्त्री ओलीलाई रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक परियारले भेटेका थिए । त्यसबेला आन्दोलनमा रहेका दलका नेताले प्रधानमन्त्रीलाई भेटेको भनेर रास्वपाभित्रै पनि कतिपय नेताहरूले आलोचना गरेका थिए ।

Published : Wednesday, 2024 November 27, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया