मन्त्री राणाद्वारा प्यूठानका लोकप्रिय नेता केसीलाई कांग्रेसको सदस्यता प्रदान

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री समेत रहेका नेपाली कांग्रेस प्यूठान २ का क्षेत्रीय सभापति रोज राणाले समाजसेवी माधव केसीलाई पार्टीको सदस्यता प्रदान गरेका छन् ।

बुधबार देउखुरीको मसुरियामा आयोजित विशेष कार्यक्रममा मन्त्री राणाले केसीलाई कांग्रेसमा प्रवेश गराएको नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल ‘रोयल’ले बताए । केसी युवाहरूका बीच लोकप्रिय छन् । स्वतन्त्र रहेर राजनीति गर्दै आएका केसीको प्रवेशसँगै प्यूठानमा हलचल आएको छ ।

प्यूठानको झिम्रुक गाउँपालिका निवासी केसीले प्यूठान जिल्लाको विकास नेपाली कांग्रेसको नेतृत्वमा हुने भन्दै आफूलाई कांग्रेसको नीति र सिद्धान्त मन परेर पार्टी प्रवेश गरेको बताएका छन् ।

शहरी विकास तथा खानेपानीमन्त्री राणाले नवप्रवेशी केसीलाई कांग्रेसको सिद्धान्त र आदर्शमा रहेर संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । राणाले क्षमता र योग्यताका आधारमा कामको मूल्यांकन गरेर केसीलाई उपयुक्त जिम्मेवारी दिइने बताएका छन् ।

यसअघि पनि मन्त्री राणाले नवप्रवेशीहरूलाई कांग्रेसमा प्रवेश गराइसकेका छन् । उनले प्यूठान कांग्रेसलाई बलियो बनाउन विभिन्न दलमा रहेका र स्वतन्त्र युवा तथा व्यक्तिलाई पार्टीमा समेट्दै आएका छन् ।

Published : Wednesday, 2024 November 27, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया