वर्षा र समृद्धिले राम्रो गरेनन्, नाक काटे

काठमाडौं । आपराधिक लाभ लिने उद्देश्यले योजना बनाइ अबैध असुली कार्य गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । गिरोहमा संलग्न एक जना फरार छन् ।

काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ नयाँठिमीमा बस्ने २६ वर्षीया वर्षा दर्जीसहितको समूहले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई १८ लाख रुपियाँको बार्गेनिङ गरेको बुधबार प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वर्षाले ती व्यक्तिलाई आफ्नो कोठामा बोलाएर चुकुल लगाएर थुनेर राखेकी थिइन् । वर्षाको साथी समृद्धि मगर आएर मेडिकल सेवा गर्ने व्यक्तिलाई अर्को कोठामा लगेर जबरजस्ती करण मुद्दामा फसाइ दिउँकी पैसा दिएर मिलाउने हो भनेर धम्की दिएकी थिइन् ।

अनलाईनमार्फत वर्षाले घाउ ड्रेसिङ गर्न भनेर मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई आफ्नो कोठामा बोलाएकी थिइन् । मेडिकल सेवा दिने व्यक्ति कोठामा आउँदा वर्षा सकुशल थिइन् । कोठाको चुकुल लगाएर मेडिकल सेवा दिने व्यक्तिलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने भनेर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।

१८ लाखबाट शुरु भएको बार्गेनिङ ८ लाखमा गएर टुंगिएको थियो । मंसिर ६ गते दिउँसो १ बजे वर्षाले ती मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई कोठामा बोलाएकी थिइन् । त्यसपछि वर्षाले शारीरिक सम्पर्क भएको भन्दै जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएकी थिइन् ।

वर्षासँगै सो घटनामा संलग्न इलामको माई नगरपालिका वडा नं. १ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धि मगर र काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ कोशीपारी घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३० को दीपेन्द्र दर्जीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दीपेन्द्र दर्जी ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान)मा मिति २०७१ सालमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

मेडिकल सेवा प्रदान गर्ने व्यक्तिले वर्षा दर्जीलाई ७५ हजारको चेक काटेर दिएका थिए । चेकलाई पनि प्रहरीले बरामद गरेको छ । मध्यपुर ठिमी– ३ मा कौशलटारमा रहेको वेभ सेकुवा कर्नरमा मंसिर ११ गते बिहान ११ बजे २५ हजार नगद दीपेन्द्र र समृद्धिले लिएका थिए । २५ हजार उनीहरूको सिद्धार्थ बैंकमा क्यूआरमार्फत जम्मा भएको अनुसन्धानका क्रममा खुलेको छ ।

आफू अन्यायमा परेको र दुई महिला र एक पुरुष मिलेर ब्ल्याकमेलिङ गरेको भन्दै न्यायका लागि ती मेडिकल सेवा प्रदान गर्ने व्यक्ति प्रहरीमा पुगेर बसै कुरा जानकारी गराएपछि प्रहरीले अपराधमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको छ ।

000

“Honey Trap मा संलग्न व्यक्तिहरु पक्राउ ” (2081-08-12)

आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं. ४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी बस्ने अं. बर्ष २६ कि बर्षा दर्जीले घाउ ड्रेसिङको लागि Online बाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा मिति २०८१।०८।०६ गते १३:०० बजेको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई रु १८,००,०००।–(अठार लाख) बाट Bargaining गर्दै रु ८,००,०००।–(आठ लाख) दिए कुरा मिल्‍छ भनि Blackmail गरी रकम असुली गरेको भन्ने सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न वर्ष २५ की समृदी मगर, वर्ष ३० को दिपेन्द्र दर्जीलाई मिति २०८१।०८।११ गते र वर्ष २५ की वर्षा दर्जीलाई मिति २०८१।०८।१२ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ बाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु
 बर्षा दर्जीले समाजिक संजाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङको आई दिनु पर्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको ।
 बर्षा दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको र निज बर्षा दर्जीले आफ्नो ढोकाको चुकुल लगाई पीडितलाई कोठामा राखेको ।
 पीडितले ढोकाको चुकुल खोली बाहिर निष्किदै गर्दा समृदी मगर भन्ने अर्को एक जना महिला आई पीडित संग कुरा गर्नु छ भनि कोठा भित्र लगि जबरजस्ती करणी मुद्दामा फसाइ दिउ की सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको ।
 रु १८,००,०००।-(अठार लाख) देखी रकमको Bargaining गरी रु ८,००,०००।–(आठ लाख) दिने शर्तमा कुरा मिलाइ जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ कौशलटारमा रहेको Wave Sekuwa Corner मा मिति २०८१।०८।११ गते बिहान अं.११:०० बजेको समयमा रु २५,०००।– नगद दिपेन्द्र दर्जी र समृदी मगरले लिएको र समृदी मगरले दिएको सिदार्थ बैंकको QR खातामा रु २५,०००।–(पचिस हजार) थप जम्मा गरेको ।
 मिति २०८१।०८।११ गते बेलुका अं. १६:०० बजे सोही स्थानमा रु ७५,०००(पचहत्तर हजार)को चेक लिएको ।
 उक्त कार्य सम्बन्धित व्यक्तिहरुले संगठित रुपमा गर्ने गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको र एक जना व्यक्ति हाल फरार रहेको ।
बरामद सामाग्री
१. NIC ASIA बैंकको बर्षा दर्जीको नाममा काटी दिएको रु ७५,०००।–(पचहत्तर हजार)को चेक थान-१
२. नगद रु १००० थान-१ र रु ५०० को थान-३९ गरी जम्मा रु २०,५००।–(बिस हजार पाँच सय)
३. बिभिन्न कम्पनीको मोबाईल थान-४
पक्राउ व्यक्तिहरु

१. नाम:- समृदी मगर
उमेर:- २५ वर्ष
ठेगाना:- जिल्ला ईलाम दानवारी गा.बि.स.वडा नं.९ परिवर्तित माई न.पा.१
हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी
२. नाम:- दीपेन्द्र दर्जी
उमेर:- ३० वर्ष
ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी
हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भू
३. नाम:- वर्षा दर्जी
उमेर:- २५ वर्ष
ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी
हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी
पुनश्च:- निज दिपेन्द्र दर्जी ज्यान सम्बन्धी कसुर(कर्तब्य ज्यान)मा मिति २०७१ सालमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको ।

Published : Wednesday, 2024 November 27, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया