प्रधान सेनापतिद्वारा पूर्वी पृतना हेड क्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले श्री पूर्वी पृतना हेड क्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।
प्रधान सेनापति सिग्देलले पौष ५ र ६ गते भ्रमणको क्रममा धनकुटास्थित श्री भीमदल गण, झापास्थित श्री अरिदमन गण, पाँचथरस्थित श्री रणशेर गण र ओखलढुङ्गास्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले उक्त पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् । उनले मातहतलाई आवश्यक निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तर्गतका फौजहरू सम्मिलित भई उदयपुरस्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको निरीक्षण गरेका छन् ।
निरीक्षणको दौरान प्रधान सेनापति सिग्देलले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरेका छन् ।
हाल नेपाली सेनाका युनिटहरूको आ–आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया