रविले स्वर्णिमलाई दिएनन् कार्यवाहक सभापति, अर्यालले जिते विश्वास

काठमाडौं । सहकारी ठगी काण्डसहितको मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले उपसभापति डाेलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

रास्वपामा दुई जना उपसभापति छन् । अर्याल र स्वर्णिम वाग्ले । लामिछानेले वाग्लेलाई कार्यबाहक सभापति नदिएर अर्याललाई दिएका छन् । अर्याल संस्थापक हुन् । वाग्ले नेपाली कांग्रेसका भगौडा अर्थात पार्टी छाडेर गएका हुन् । कार्यवाहक सभापति नपाएपछि वाग्ले तनावमा परेका छन् । लामिछानेले वाग्लेलाई भन्दा अर्याललाई विश्वास गरेका छन् ।

काठमाडौंमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको प्रवक्ता सन्ताेष परियारले बताएका छन् ।

सभापति लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएका छन् । अर्याललाई कार्यवाहक सभापति दिने प्रस्ताव पार्टीको भर्चुअल बसेकाे सचिवालय बैठकले अनुमोदन गरेको छ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल गरेको पनि परियारले बताए ।

रास्वपा सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसूरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पदबाट स्वतः निलम्बनमा पर्ने भएका छन् । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चयन गर्नुपर्ने हुन्छ ।

Published : Monday, 2024 December 23, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया