कामचाेर निकम्मा मन्त्रीहरूलाई हेटौंडा नछाड्न मुख्यमन्त्रीकाे निर्देशन
काठमाडौं । कामचाेर निकम्मा मन्त्रीहरू उद्घाटन, रिबन काट्न, पावर देखाउन दलबलसहित धुलाे उडाउँदै काठमाडौंमा बस्न थालेपछि वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।
मंगलबार मुख्यमन्त्री लामाले मन्त्रीहरूलाई हेटौंडा नछाड्न निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यत्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि हेटौंडामै रहेर कार्यसम्पादन गर्न निर्देशन दिएकाे बताए ।
हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्रालयगत रुपमा चालु आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो महिनाको प्रगतिको समीक्षालाई सम्बोधन गर्दै उनले मन्त्रालयका सचिवहरुलाई पनि हप्ताको ५ दिन कम्तीमा हेटौंडामा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
वाग्मती प्रदेशमा पछिल्लो समय मन्त्रालयगत रुपमा खर्च कमजोर भयो भन्ने चौतर्फी आवाज उठिरहेको छ । विशेषगरी बहुवर्षे योजनाका कारण सोचेअनुसार मन्त्रालयगत रुपमा खर्च कमी भएको निष्कर्ष छ । अब खर्च बढाउनका लागि बहुवर्षे योजनाको प्रगति र समयमै सम्पन्न गर्न आवश्यक काम गर्न मुख्यमन्त्री लामाले निर्देशन दिएका छन् ।
मन्त्रीहरू झण्डा हल्लाउँदै कामै नभएको ठाउँ र कार्यक्रममा पुगेर भिडभाड गरेकाे गुनासा आइरहेका बेला मुख्यमन्त्री लामाले आफ्ना मन्त्रीहरूलाई हप्तामा चार दिन हेटौंडा नछाड्न भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया