नागरिकता निकै संवेदनशील विषय छ, गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन, र सम्मानित सर्वोच्च अदालतबाट पटकपटक फैसला भएका छन् ।’ 

उनले भने, ‘पटक/पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकारअगाडि बढेको छ। उनले संविधान र कानुन बमोजिम नागरिकता प्राप्ति सहज बनाइने बताए ।

उनले भने, ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं ।’

समितिले झण्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानूनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए ।

Published : Friday, 2024 December 27, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया