परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

आइतबार साँझ काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा पुगी स्व.सिंहको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्व.सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

डा.राणाले शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा.सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र रहेको बताएकी छिन् ।

शोक पुस्तिकामा परराष्ट्रमन्त्री डा.राणाले स्व.सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गरेकी छिन् ।

स्व.सिंहले तत्कालीन समयमा नेपाललाई गरेको सहयोग र समर्थनका कारण सधैँ नेपाली जनताको स्मृतिमा रहने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले स्व.सिंहको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताएकी छिन् ।

भारतीय पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ पर्षको उमेरमा निधन भएको थियो ।

Published : Sunday, 2024 December 29, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया