‘बेस्ट ब्रेन्स’को नाममा धान चोर्ने मुसो, चोट खाने बेलायतमा बसेको भ्यागुतो, प्रहरी र विभागमा पुग्यो लाखौं ठगीको जाहेरी
काठमाडौं । बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.का विषयमा विभिन्न व्यक्तिले अबैध उठ्तीपुठ्ती गरेर ठगी गरेपछि वैदेशिक रोजगारी विभाग र नेपाल प्रहरीका विभिन्न निकायमा जाहेरी पर्न लागेका छन् ।
आपराधिक विश्वासघात, ठगी, वैदेशिक रोजगार कसूरमा जाहेरी परेको दरखास्तमा उल्लेख छ । आइतबार नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली र काठमाडौं अपराध अनुसन्धान कार्यालय, टेकुलाई सम्बोधन गरे जाहेरी दरखास्त पु¥याइएको छ । समय अभावका कारण मंगलबार मात्रै जाहेर दरखास्त प्रहरीमा दर्ता हुनेछ । सोमबार पीडित पक्षकी जानुका ढुंगानाको तर्फबाट अर्जुन ढुंगानाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पुगेर मौखिक उजुरी समेत दिएका छन् । अर्जुनले मंगलबार प्रहरीका विभिन्न निकायमा जाहेरी दर्ता हुने बताए ।
रिपब्लिका दैनिकलाई प्राप्त जोहरी दरखास्त र त्यसमा संलग्न कागजपत्रहरूमा ७ जनाविरुद्ध कारबाहीको माग गरिएको छ ।
चितवनको भरतपुर घर भएका ३९ वर्षीय राजेन्द्र सापकोटा, ३२ वर्षीया कम्रेश भन्ने कमला सापकोटा, ३५ वर्षीया मीना सापकोटा, ३७ वर्षीय अर्जुन सापकोटा, ललितपुरको सातदोबाटो अवस्थित भ्याली केयर होमको संचालक २९ वर्षीया नेहा अधिकारी, ३२ वर्षीय सम्पूर्ण केसी र ज्ञान केयर ईन्स्टीच्युटका संचालक २९ वर्षीय अकृजा भन्ने विन्दु पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता हुन लागेको छ ।
जानुका ढुंगानाले दर्ता गरेर बेलायत जानु अघि राजेन्द्र सापकोटालाई अख्तियारी दिएकी थिइन् । राजेन्द्र सापकोटाले वेस्ट ब्रेन्सका बारेमा भएको विवाद र ठगीका विषयमा प्रतिक्रिया दिँदै आफूले आवश्यक निकायमा जवाफ दिने बताए । नेहा अधिकारीले आफ्नो खातामा पैसा कसरी आयो थाहा नभएको प्रतिक्रिया दिइन् । उनले आफू निर्दोष रहेको दाबी गरेकी छिन् । विन्दु पोखरेलले पनि पैसा आएको स्वीकार गरे पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरेकी छिन् । राजेन्द्र, नेहा र विन्दुले आफूहरू पनि कानूनी प्रक्रियामा रहेको बताए ।
नेहा अधिकारीलाई हुण्डीको कारोबार गरेको अभियोग पनि लागेको छ । हुण्डी कारोबारको आरोप उनले अस्वीकार गरेकी छिन् । उनीहरूमाथि प्रहरी हुण्डीका साथै खातामा आएको रकमका बारेमा अनुसन्धान गर्ने आश्वसन दिएको पीडित पक्षले जनाएको छ ।
‘जानुका ढुंगाना विदेश फर्किनु अघि उक्त प्रा.लि.लाई सफलतापूर्वक कानूनी रुपमा सञ्चालन गरि नाफा आर्जन गर्ने छौँ भनी माथि कसूरदार खण्डमा उल्लेखित राजेन्द्र सापकोटा र राजेन्द्र सापकोटाका भाइ अर्जुन सापकोटा, तथा बहिनीहरू मीना सापकोटा, र कमला सपकोटा समेत जना ४ ले विश्वास दिलाई जानुका ढुंगानाबाट प्रालिको तर्फबाट उक्त व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने बैंक खाता सञ्चालनको अनुमति, कार्यालयको जिम्मेवारी तथा अन्य आवश्यक कार्य गर्ने जिम्मेवारी समेत प्राप्त गरेको हो’, जाहेरी दरखास्तमा उल्लेख छ ।
जानुका ढुंगानाबाट जिम्मेवारी तथा अख्तियारी प्राप्त गरेपछि राजेन्द्र सापकोटाको समूहले जानुका ढुंगानाको एकल स्वामित्वमा रहेको बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालि र जानुका ढुंगानालाई क्षति तथा नोक्सानी पु¥याउने कार्य गरेको अभियोग लगाइएको छ । यो समूहले बेस्ट ब्रेन्स एजुकेशनको आवरणमा प्रत्येक व्यक्तिसँग ४० देखि ५० लाखको दरले अन्दाजी २० देखि ४० जना व्यक्तिसँग लाखौं रुपियाँ उठाएको अभियोग लगाइएको छ । जानुका ढुंगानाका पिता समेत रहेका जाहेरवाला अर्जुन ढुंगानाले यो ठगी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा जानुका ढुंगानाको कहिँ कतै संलग्नता देखियो भने प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताए । उनले पीडितको रकम क–कसको खाता र व्यक्तिको नाममा गएको छ सो विषयमा पनि प्रहरीले सत्यतथ्य रुपमा छानविन गर्नुपर्ने माग गरेका छन् ।
केही व्यक्तिले ठगीको अभियोगमा प्रमाणसहित रकम फिर्ताको माग राखेर वैदेशिक रोजगार विभागमा जोहरी समेत दिएका छन् । रकम फिर्ता गर्नुको साटो यो समूहले फोन गरेर पीडितलाई धम्काउने समेत गरेको रहस्य खुलेको छ ।
केही पीडितलाई मालिगाउँमा रहेको प्रहरी वृत्तमा ब्याक डेटको मिति राखेर चेक समेत दिएर विवादलाई सामसुम पार्ने प्रयास भएका छन् ।
जानुका ढुंगानाले वेस्ट ब्रेन्स आफ्नो एकल संस्थापक शेयरधनी भए पनि कानूनी रुपमा राजेन्द्र सापकोटालाई अख्तियारी दिएको र त्यसपछि भएका अबैध कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया