तत्कालीन स्वकीय सचिवले शेरा दरबारको जग्गा कब्जा गरेको विषयमा प्रचण्डको प्रतिक्रिया

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टीलाई जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा सोमबार आयोजित कार्यक्रममा दाहालले पार्टीले सुशासनका लागि उठाएको एजेन्डालाई कमजोर बनाउन प्रायोजित प्रचार गरिएको बताए । उनले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा माओवादी पार्टी र नेतृत्वलाई जोड्ने प्रयास भइरहेको बताए ।

माओवादीका अध्यक्ष दाहालले यस्तो प्रचारलाई अनावश्यक र योजनाबद्ध षड्यन्त्र भएको बताए ।

उनले भने, ‘शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउनुपर्छ, त्यसमा हाम्रो पूर्ण साथ रहनेछ ।’

उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, शेरादरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याऊ । तर झुटो राजनीति गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’

पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरिसकेको छ ।

हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष प्रचण्ड २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको छ ।

सार्वजनिक जग्गा गैरकानूनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको छ ।

दाहालले आगामी निर्वाचनबाट माओवादीलाई देशकै पहिलो पार्टी बनाउने र भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने बताए । उनले पछिल्लो उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी पहिलो पार्टी बनेको उदाहरण पेस गरेका छन् । दाहालले अब माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतमा पुगेको र कांग्रेस वा एमालेसंग मिल्न जरुरी नरहेको बताए ।

उनले भने, ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित र उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन ।’

दाहालले भने, ‘तपाईंहरू (जनता) को तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरूलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउने सम्भव छ र बनाइनेछ ।’

Published : Monday, 2024 December 30, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया