प्रहरी निगरानीमा सनत आचार्य, बेल्जियममा बसेर प्रधानमन्त्री, न्यायाधीशसहितका व्यक्तिको चरित्रहत्या

काठमाडौं । विदेशी भूमिमा बसेर प्रधानमन्त्री केपी ओलीसहित उच्चपदस्थ व्यक्ति, न्यायालय, न्यायाधीश लगायतको चरित्र हत्या गर्ने, सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्य गर्दै आएका सनत आचार्यमाथि प्रहरीले निगरानी बढाएको छ ।

बेल्जियममा बस्दै आएका आचार्यले प्रधानमन्त्री ओलीको चरित्रहत्या गर्नेदेखि नेपाल सरकारविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेपछि प्रहरीले निगरानी बढाएको हो ।

प्रहरीको साईबर व्यूरो भोटाहिटीले विदेशी भूमिमा बसेर प्रधानमन्त्रीसहित सरकार र उच्चपदस्थ व्यक्तिमाथि निच तहको टिकाटिप्पणी गर्ने आचार्यसहितका व्यक्तिमाथि निगरानी गरिरहेको स्रोतले जनाएको छ । आचार्यविरुद्ध प्रहरीमा उजुरी परिसकेको छ । आवश्यक पर्दा आचार्यविरुद्ध रेड नोटिस जारी गरेर प्रहरीले कुनै पनि बेला पक्राउ गरेर नेपाल झिकाउन सक्छ ।

प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्रीहरूविरुद्ध घृणा फैलाउने, आफूलाई मन नपरेका व्यक्तिहरूविरुद्ध जथाभावी कार्य गर्ने, सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिर रवि लामिछानेको विषयमा अदालतमा फाइल हरेका न्यायाधीशको चरित्र हत्या गर्ने लगायतका हर्कत गर्दै आएका छन् । आचार्यका गलत हर्कतको लामो सूची प्रहरीले बनाएको स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) बसन्त रजौरे र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरे लगायतको नाम लिएर बेल्जियममा आचार्यले बबाल गर्दै आएका छन् । बेल्जियमबाट एसएसपीद्वय रजौरे र घिमिरेलाई गलत सूचना पठाउने गरेको आरोप पनि छ । आचार्य र एसएसपीद्वय रजौरे र घिमिरेको घर नेपालमा एउटै जिल्ला र ठाउँमा पर्छ । आचार्यबाट बेल्जियमसहित युरोपमा रहेका अधिकांश नेपालीहरू आजित बनेका छन् । आचार्यले आफू पत्रकार हुँ भनेर धम्की दिएर धेरैलाई पीडित बनाएको बेलाबेला गुनासाहरू आउने गरेका छन् । एनआरएनका धेरै व्यक्तिहरू आचार्यसँग निकै रिसाएका छन् ।

न्यायाधीश र न्यायालयको मानहानी गरेको अभियोगमा आचार्यमाथि प्रहरीले निकै निगरानी बढाएको छ । आचार्यले सामाजिक सञ्जाललाई निकै दुरुपयोग गरेको प्रहरीको ठहर छ । लामिछानेको मुद्दा हेरेका न्यायाधीशविरुद्ध आचार्यले सामाजिक सञ्जालमा लेखेको कुराले उनलाई ठूलो नोक्सानी र क्षति हुने पक्का छ । यो विषयमा आचार्यमाथि निगरानी भएको स्रोतले जनाएको छ ।
नेपालमा रहँदा एनजिओ, आईएनजिओ, जनमोर्चा, राजावादी लगायतका विभिन्न संघ, संस्थामा लागेका आचार्य बेल्जियममा दोस्रो घरजम गरेर बसेका छन् । आचार्य आजकाल आफूलाई रवि लामिछाने निकट रहेको देखाउन थालेको चर्चा बेल्जियममा छ । आचार्यसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

नेपाली नागरिकता त्याग गरेर बेल्जिममा भासिएका आचार्यले प्रधानमन्त्री ओली, न्यायालय, न्यायाधीश र उच्चपदस्थ व्यक्तिहरूमाथि सामाजिक सञ्जालबाट चरित्रहत्याका गतिविधि गरेपछि प्रहरीले मात्रै होइन अन्य निकायले पनि निगरानीमा राखेको बुझिएको छ ।

आचार्यले बेल्जियममा बसेर केही नेपालीहरूलाई धम्की दिने, बार्गेनिङ गर्ने, दुःख दिने लगायतका कार्य गरेको आरोप पनि लागेको छ । आचार्यविरुद्ध साईबर अपराधमा युरोपका विभिन्न देशमा उजुरी हाल्ने तयारी पीडित नेपालीहरूले गरेका छन् ।

Published : Monday, 2024 December 30, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया