कांग्रेस सधैं समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको शुभकामना दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गरेर देउवाले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूप्रति शुभकामना दिएका हुन् ।

देउवाले भने, ‘अपाङ्गता भएका व्यक्तिहरू, उहाँहरूका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने सभापति देउवाले जनाएका छन् ।

‘नेपाली कांग्रेस सधैं समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा लड्दै आएको छ’, उनले भने, ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध छ ।’

सभापति देउवाले भने, ‘समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व हो ।’

‘अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ’, देउवाले भने, ‘यस अवसरमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवालाबीच एकता र सहकार्यको खाँचो छ ।’

‘नेपाली कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानूनी, सामाजिक र संरचनागत सुधारहरूमा निरन्तर योगदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउनेछ’, उनले भने ।

‘अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न नेपाली कांग्रेस सबैसँग आग्रह गर्दछ’, सभापति देउवाले भनेका छन् ।

Published : Tuesday, 2024 December 3, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया