मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्नेछौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् स्थानीय तह उपनिर्वाचन–०८१ का संयोजक विश्वप्रकाश शर्माले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण गर्ने बताएका छन् ।

मंगलबार महामन्त्री शर्माले विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर सन्तोषजनक र उत्साहवर्धक संकेत पाएको बताए ।
उनले भने, ‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौं नै, प्रारम्भीक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई, हामीले संतोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ ।’

‘मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त एक्यवद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ’, कांग्रेसले भनेको छ ।

‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए’, उनले भने, ‘समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर, राजनैतिक, सांगठनिक र गुणात्मक रुपले बढि महत्वपूर्ण छ ।’

‘यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ’, उलने भने ।

महामन्त्री शर्माले भने, ‘०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौं भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौं ।’

‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोंच हुन्न तर, जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं ।’

‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ’, उनले भने ।

‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पंक्तिको बिशेष सतर्कता र कृयाशिलता जरुरी देखिएको छ’, शर्माले भने ।

‘यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सकृय भुमिका निभाउने युवा पंक्तिलाई पार्टी सम्मान गर्दछ’, महामन्त्री थापाले भनेका छन् ।

‘चुनावी दौड सकिएको छ, अब सबै तितानमिठा भुलेर काममा जुटौं’, उनले भने, ‘सबै विजयीलाई आग्रह–पुर्वाग्रह मुक्त भएर जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना ।’

उनले भने, ‘निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी, समाचार सम्प्रेषण गर्ने संचारकर्मी लगायत सबैप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ ।’

Published : Tuesday, 2024 December 3, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया