त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले १८ महिना सरकार चलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

बिहीबार चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डेढ वर्षसम्म देउवाले सरकार चलाउने बताए । उनले ०८४ को चुनाव पनि देउवाले गराउने बताए । प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’

ओलीले आफूहरूबीच चुनावसम्मको मात्र सहमति भएको बताएका छन् । चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीले बताए ।

उनले भने, ‘चुनावमा हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास छ ।’

‘विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरू होलान्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । उनले भने, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छभने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन’, ओलीले भने, ‘कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’

ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताए ।

उनले भने, ‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहो¥याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन ।’

‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन्’, उनले भने ।

उनले भने, ‘ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुनै कुरा पनि चलेन । छलफल पनि भएन । हामीले यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौं । हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं । त्यसको कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा ।’

Published : Thursday, 2024 December 5, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया