कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयहरू

मंसिर २४, २०८१
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठ, काठमाडौंमा आज बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।

(१) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा गर्नु भएको मनोनयनलाई यो बैठक अनुमोदन गर्दछ ।

(२) नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौं संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासंघको विधान, २००८ (संशोधन सहित) (सातौं संशोधन २०८१) लाई परिमार्जन सहित पारित गर्दछ ।

(३) संवत् २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणाली तर्फ गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनु भएका विमला गौचनको २०८१ कात्र्तिक २८ गते राति निधन भई नेपालको संविधानको धारा १८० को खण्ड (च) बमोजिम रिक्त हुन गएको उक्त पद पूर्ति गर्ने प्रयोजनका लागि प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (३) र (४) बमोजिम गण्डकी प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्र.सं. १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूह भित्रको प्राथमिकता क्रमसंख्या ५ मा नाम रहनु भएका श्री सुनिता थापालाई गण्डकी प्रदेश सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ । सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने ।

समवेदना

गण्डकी प्रदेश सभाका सदस्य श्री विमला गौचनको २०८१ कात्र्तिक २८ गते राति भएको निधनप्रति कार्यसम्पादन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरी उहाँको आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Monday, 2024 December 9, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया