ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने

काठमाडौं । ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहबिार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गरेको छ । बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपियाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपियाँ पुग्नेछ ।

अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको ढकालले बताए ।

बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान गरेको छ ।

Published : Friday, 2024 December 13, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया