भारत भ्रमण सम्पन्न गरी प्रधान सेनापति स्वदेश फिर्ता, को–कोसँग भेट गरे ?
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल मित्रराष्ट्र भारतको भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।
आइतबार प्रधान सेनापति सिग्देल स्वदेश फर्किएको विज्ञप्तिमा उल्लेख छ । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर २६ गते सिग्देल नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सिग्देलले मंसिर २६ देखि ३० गतेसम्म भारत भ्रमण गर्नुका साथै विभिन्न स्थानमा पुगेर अवलोकन गरेका थिए ।
भारत भ्रमणको क्रममा मंसिर २७ गते प्रधान सेनापति सिग्देललाई भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी सिग्देल भारतको देहरादुनस्थित भारतीय सेना एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरूमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।
प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।
सोही अवसरमा सिग्देलले भारतीय सेनाको साउथर्न कमाण्ड अन्तर्गतका एयर फोर्स स्टेसन, टाटा एड्भान्स सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया