कांग्रेस सांसद गुरुङको समन्वयमा सहजीकरण समिति गठन, हाइड्रो र सडकस्तरोन्नतिका लागि सहयोग गर्ने

नासो । नेपाली कांग्रेसका सांसद एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले १३५ मेगावटको मनाङ मर्स्याङदी हाइड्रोपावर समयमा सम्पन्न गर्न ‘सहजीकरण समिति’ गठन गरिएको बताएका छन् ।

मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मातृका आचार्यको कार्यकक्षमा प्रतिनिधिसभाका सांसद गुरुङ तथा गण्डकी प्रदेशसभाका सदस्य मुन्द्रिजंग गुरुङको विशेष उपस्थितिमा चामेमा बसेको सम्बद्ध सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरूसहितको बैठकले गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङको संयोजकत्वमा ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय भएको हो ।

सांसद गुरुङले मनाङको विकासमा मेरुदण्ड मानिएको बेसीशहर–चामे सडक खण्डको स्तरोन्नति र हाइड्रोपावरहरू समयभित्र सम्पन्न गर्ने विषयमा विशेष पहल र दौडधुप गर्दै आएका छन् । उनले सरकारी निकाय र स्थानीयहरूसँग आवश्यक समन्वय गर्दै आएका छन् ।

मनाङ मर्स्याङ्दी हाइड्रोपावर आयोजना निर्माणका लागि उपलब्ध भएसम्म श्रमिकको सिप, क्षमता र योग्यता बमोजिम स्थानीय तथा नेपाली नागरिकलाई रोजगारीमा प्राथमिकता दिने निर्णय गरेको छ । कामदारलाई न्यूनतम पारिश्रमिक नेपाल सरकार र मनाङ जिल्लाको स्वीकृत जिल्ला दररेटअनुसार हुनेछ ।

परियोजना शुरुवात भैसकेको अवस्थामा परियोजनाका विभिन्न कार्यहरूलाई समयमा निर्वाधरुपमा सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्ने सहमति भएको छ । अतिरिक्त थप विषयमा छलफल गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयसँग समन्य र सहकार्य गरी आपसी सहमतिमा आवश्यकताअनुसार तय गर्दै जाने निर्णय भएको छ ।

सांसद गुरुङले मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक स्तरोन्नति र विकासका लागि जोडबल गर्दै आएका छन् । सडकको स्तरोन्नतिका साथै हाइड्रोपावरले सडक बनाउनेछ ।

सांसद गुरुङले मनाङको नासो गाउँपालिकाका स्थानीय सरोकारवाला र जनप्रतिनिधिसँग बेँसीशहर–चामे सडक खण्डको स्तरोन्नतिका विषयमा अन्तरक्रिया र परामर्श गरेका हुन् । बेँसीशहर–चामे सडक खण्ड स्तरोन्नति हुने भएको र सबैले सहयोग गर्ने सहमति बनेको सांसद गुरुङले बताए ।

बेँसीशहर–चामे सडक खण्डको स्तरोन्नति गर्ने निर्णयले सडकमा गुड्ने ठूला सवारी साधनहरूले सामना गर्ने पहुँच र चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ ।

सांसद गुरुङ, मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीका प्रतिनिधि र स्थानीय नेताहरूबीच भएको छलफलमा ६ मिटर चौडाइँको सडक बनाउने सहमति बनेको छ ।

सांसद गुरुङले केही क्षेत्रमा ४ मिटर र अन्यमा ६ मिटर चौडाइँको फरक फरक भएकाले ठूला सवारी साधन चलाउन समस्या भएको बताए । उनले साँघुरो खण्डमा न्यूनतम ६ मिटर चौडाइँको सडक निर्माण गर्ने सहमति भएको बताएका छन् ।

सांसद गुरुङले खत्रोदेखि नाच्छेसम्म निर्माणाधीन मोटर सडकको पनि निरीक्षण गरेका छन् । निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएको सांसद गुरुङले बताए ।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गुरुङले बगरछाप–घाल्यानचोक मोटर सडकको स्थलगत भ्रमण गरेका छन् । उनले विकास आयोजना समयमै सम्पन्न गर्न मापदण्ड पूरा गर्नुपर्ने बताए ।

कांग्रेस सांसद गुरुङले धारापानी–भीमताङ मोटरसडकका सम्बन्धमा स्थानीयवासी, सडक डिभिजन कार्यालय, लमजुङ टोली र जनप्रतिनिधिसँग छलफल गरी धरापनीदेखि भीमथाङसम्म निर्माणाधीन मोटरसडकलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको बताए ।

गुरुङले दूधखोला पुल निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सांसद गुरुङ सरकारी अधिकारी र निर्माण कम्पनीलाई पुल निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सांसद गुरुङले मनाङमा ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भएको जिल्लामा १३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको काम सुरु भइसकेको बताए । उनले मनाङको जलविद्युत् आयोजनाको प्रगति पनि सन्तोषजनक रहेको बताए ।

लमजुङको खुदीदेखि मनाङको कोटोसम्मको ५० किलोमिटर सडकको स्तरोन्नति र चौडाइँको काम टोलीले स्थानीय र पर्यटकलाई सुरक्षित यात्राको सुनिश्चितता गर्न थालेको सांसद गुरुङले बताएका छन् ।

जलविद्युत् आयोजना अगाडि बढ्दै जाँदा सांसद गुरुङले हजारौं स्थानीयलाई रोजगारी र विकास सहयोगबाट लाभान्वित हुने अवसर रहेको बताए । उनले मनाङलाई पर्यटनको हब, जलविद्युतको केन्द्र बनाउनुपर्ने बताए । सांसद गुरुङले छिमेकी राष्ट्रहरूसँग ऋण र अनुदान माग्नुभन्दा पनि कुन कुन क्षेत्रमा तिमीहरूले लगानी गर्न सक्छौँ गर भनेर लगानी भित्र्याउनुपर्ने बताए । लगानी भित्रिने हो भने विकास र रोजगारी आफै हुने सांसद गुरुङले बताएका छन् ।

सांसद गुरुङले आयोजनामा अवरोध नगर्न र सुचारु रूपमा सञ्चालन गर्न निर्माण कम्पनीसँग सहकार्य गर्न स्थानीय समुदायसँग आग्रह गरेका छन् ।

यसैबीच, सहजीकरण समितिको सदस्यहरूमा धनबहादुर गुरुङ (नासो गाउँपालिकाका अध्यक्ष), लोकेन्द्रबहादुर घले (चामे गाउँपालिकाका अध्यक्ष),बेदबहादुर गुरुङ (नासो गाउँपालिकाका उपाध्यक्ष), मिङमार ढोमा लामा (चामे गाउँपालिकाकी उपाध्यक्ष), निलराम गुरुङ (नासो गाउँपालिका वडा नं.३ का वडाध्यक्ष), याद घले (नासो गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष), मीङमार छिरिङ विष्ट (नासो गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष) रहेका छन् ।

त्यसैगरी, खङजंग गुरुङ (चामे गाउँपालिका वडा नं. १ का वडाध्यक्ष), मंगलदेव गुरुङ (चामे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष) र विनोद लामा (चामे गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष) रहेका छन् ।

समितिको सदस्यहरूमा सुकमाया बि.क.(जिल्ला समन्वय समिति सदस्य मनाङ), झोउ फेइ (मनाङ मर्स्याङ्दी हाइड्रोपावर) झोआउ (मनाङ मर्स्याङ्दी हाइड्रोपावर), राजकुमार बराल (मनाङ मर्स्याङ्दी हाइड्रोपावर), विवेकमान सिंह (मनाङ मर्स्याङ्दी हाइड्रोपावर) र प्रतीक प्रधान (मनाङ मर्स्याङ्दी हाइड्रोपावर) रहेका छन् ।

Published : Sunday, 2024 December 15, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया