तरुणले मेहनत गर्ने हाे भने कांग्रेसलाई मुलुकको एक नम्बरको पार्टी बनाउन सक्छौं : नेता खाण

भरतपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले तरुणहरू क्रियाशील हुने हो भने पार्टी मुलुकको एक नम्बर पार्टी बन्ने बताएका छन् ।

मंगलबार नेपाल तरुण दल चितवनले भरतपुरमा तरुण दलका तत्कालीन जिल्ला अध्यक्ष शिव पौडेलको १३औँ स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै नेता खाणले कांग्रेसलाई पहिलो बनाउन तरुण र पार्टीका कार्यकर्ताहरू एक हुनुपर्ने बताए ।

उनले भने, ‘यदि हामी सक्रिय भयौँ भने । हामीले क्रियाशीलता देखायौँ भने । हामीले मेहनत गर्‍यौँ भने नेपाली कांग्रेसलाई मुलुकको एक नम्बरको पार्टी बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त गरेको छु ।’

नेता खाणले भने, ‘तरुणहरूले कांग्रेसलाई बलियो बनाउन लागिरहनुभएको छ । तरुण दल वीपीद्वारा प्रतिवादित र स्थापित तरुण दल हो ।’

‘ओम् भन्ने शब्दको बिकल्प छैन । ओमले उर्जा दिन्छ । त्यसैगरी तरुण दलको पनि बिकल्प छैन । तरुण दलले उर्जा दिन्छ ।’

नेता खाणले तरुणहरूले गर्ने कार्यक्रमले कांग्रेसको संगठन बनाउन मद्दत गर्ने गरेको बताए । उनले भने, ‘कार्यक्रमको ओजनले, कार्यक्रमको गरिमाले, कार्यक्रमको क्रियाशीलताले हामी मञ्चमा बस्ने नेतालाई थप ग्राभिटी दिन्छ । आजको कार्यक्रमले पनि हामीलाई ठूलो बल दिएको छ ।’

‘शिव पौडेलजीलाई हार्दिक श्रद्धाञ्जलि दिन चाहन्छु । शिव पौडेलजी तरुण दलको उज्वल र सशक्त नक्षत्र हुनुहुन्थ्यो’, खाणले भने, ‘शिव पौडेलले तरुण दलको जिल्ला अध्यक्ष हुँदा केन्द्रले भनेको सबै कार्यक्रम गर्नु हुन्थ्यो ।’

नेता खाणले तरुण दललाई वीपी कोइरालाले स्थापना गरेको भन्दै तरुणको महत्व आफ्नै प्रकारको रहेको बताए ।

उनले भने, ‘वीपी कोइरालाको मूल प्रेरणामा २०१० सालमा तरुण दलको स्थापना भएको हो । २०१७ सालमा तरुण दलको महाधिवेशनमा राजा महेन्द्रबाट प्रहार भयो । वीपी, गणेशानजीहरू गिरफ्तार हुनुभयो । २०५४ सालमा आदरणीय गिरिजाप्रसाद कोइरालाले कांग्रेस महासमिति बैठकमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभयो ।’

कार्यक्रममा कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, कांग्रेसका नेता उदयशम्शेर राणा, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, चितवन कांग्रेसका नेता जीतनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2024 December 17, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया