रविका पार्टर जीवीले जस्तै सुमेरुको ४ अर्ब खाएर भागेका भरतविरुद्ध मुद्दा दायर

काठमाडौं । प्रहरीले ललितपुरको सुमेरु सहकारीको रकम ठगी र हिनामिना प्रकरणमा पूर्वअध्यक्ष भरत महर्जनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ ।

महर्जनविरुद्ध तीन अर्ब ९३ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताएका छन् ।

सहकारीमा समस्या आएपछि महर्जनले आफू र आफ्ना परिवारका सबै सदस्यलाई बेलायतमा लिएर भागेका छन् । तीन वर्षअघिदेखि नै उनीविरुद्ध बचतकर्ताले प्रहरीमा उजुरी दिन थालेका थिए । प्रहरी अधिकारीलाई प्रभावमा पारी अनुसन्धान रोकाउँदै आएका महर्जन ठगीको रकमसमेत लिएर बेलायत भागेका थिए ।

महर्जनविरुद्ध नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेको छ । बेलायत सरकारले नेपाल फर्काउन पहल गरेको छैन । महर्जनको नेपालमा रहेको सम्पत्ति भने रोक्का रहेको छ ।

गितेन्द्रबाबु राई (जीवी)ले जस्तै गरी नियम मिचेर महर्जनले सहकारीको पैसा धापाखेलको सुमेरु अस्पताल, पुल्चोकको सुमेरु सिटी अस्पताल, सातदोबाटोको एसियन कलेज र शंकरापुर एकेडेमी, सुमेरु हाउजिङ मार्ट, मनी एक्सचेन्ज, ट्राभल तथा सुमेरु इन्भेस्टमेन्टजस्ता कम्पनीमा लगेको सूर्य थापा नेतृत्वको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

लगानी फस्दै गएपछि सहकारीमा आर्थिक संकट सुरु भएको थियो । त्यससँगै ०७६ मा हेमराज दाहाललाई अध्यक्ष बनाएर उनी बाहिरिएका थिए ।

तीन अर्ब ९५ करोड महर्जन एक्लैले नियमविपरीत निकालेर अपचलन गरेका थिए । जसमा अन्य सञ्चालक तथा कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याइएको छैन ।

कर्मचारीकै नाममा कर्जा प्रवाह गरेर महर्जनले पटक–पटक पैसा निकालेका छन् । खाली चेक धितो राखेर त्यसरी गैरकानूनी रूपमा कर्जा प्रवाह हुँदा पाँच वर्षदेखि सहकारी समस्यामा छ ।

सहकारीको करोडौं रकम हिनामिना र ठगी काण्डमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपाका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेका पार्टनर गितेन्द्रबाबु राई (जीवी)ले जस्तै भरत महर्जनले झण्डै ४ अर्ब हिनामिना र ठगी गरेर भागेका छन् ।

Published : Wednesday, 2024 December 18, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया