दलित वर्गलाई राज्यका निकायहरूमा सहज र सरल पहुँच स्थापित गर्न अझै चुनौती : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान र कानूनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै देउवाले क्रमिक रुपमा समावेश हुँदै आएको भएपनि व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले दलित वर्गलाई राज्यका निकायहरूमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतीको विषय रहेको बताए । त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको सभापति देउवाले बताए ।

उनले भने, ‘नेपालको संविधान र कानुनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएका छन् । यसको व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन जरुरी छ ।’

सभापति देउवाले भने, ‘हाम्रो संविधानले खास गरी राज्यको मुल धार भन्दा बाहिर रहेका जाति, वर्ग, क्षेत्र र समुदायका लागि राज्यका सबै निकायमा यथा सम्भव समानुपातिक, समावेशिता र आरक्षणको सुनिश्चितता गरेको छ ।’

राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको उनले बताए ।

उनले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

‘समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो’, देउवाले भने, ‘राज्यका सबै जातजाती, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ ।’

Published : Wednesday, 2024 December 18, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया