कांग्रेसद्वारा ५ समितिका आफ्ना सांसदसँग छलफल, १५ वटा विधेयकमा देउवाको चासो

काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन १५ वटा विधेयकहरूका विषयमा आफ्ना सांसदहरूसँग छलफल गरेको छ ।

कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले समितिहरूमा बिचाराधीन विधेयकहरू अनुमोदन भएर संसदको पूर्ण बैठकमा जान किन ढिलाइ भएको छभनेर चासो राख्दै आएका छन् । देउवाको निर्देशनपछि प्रमुख सचेतक घिमिरेले समितिका आफ्ना सांसदहरूसँग छलफल गरेका छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितका सांसदहरूको बैठक बसेर संसदीय समितिहरूमा बिचाराधीन विधेयकका विषयमा छलफल भएको हो ।

प्रतिनिधि सभाका विभिन्न ६ वटा समितिहरू छन् । ती समितिहरूमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएर विधेयकको अवस्था, समस्या र विधेयकलाई पारित गर्न पर्ने कठिनाइ लगायतका विषयमा छलफल गरिएको प्रमुख सचेतक घिमिरेले बताए ।

घिमिरेले समितिमा जतिसक्दो छिटो ती विधेयकहरूलाई अन्तिम टुंगो लगाउन निर्देशन दिइएको बताए । संसदको अगामी अधिवेशनमा यी १५वटा विधेयकहरू पारित गर्नका लागि कांग्रेसका सांसद सदस्यहरूसँग आग्रह गरेको उनले बताए ।

प्रमुख सचेतक घिमिरले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदको अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए ।

बिहीबार एमाले र कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

Published : Wednesday, 2025 January 1, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया