कांग्रेस र एमाले कार्यदलको बैठक, एमालेले दियो सांसदहरूलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू सम्मिलित कार्यदलको बैठकमा कानून निर्माण, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा छलफल भएको छ ।

बिहीबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेका नेताहरूको बैठक बसेको हो । बैठकमा कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे र एमालेबाट प्रमुख सचेतक महेश बर्तौला लगायतका सांसदहरूको उपस्थिति रहेको थियो ।

संसदका समितिहरूमा बिचाराधीन विधेयकहरूका बारेमा कांग्रेस र एमालेबीच छलफल भएको कांग्रेसका प्रमुख सचेतक घिमिरेले बताए ।

विचाराधीन विधेयकलाई आगामी संसद् अधिवेशनबाट पारित गर्न समितिमा कांग्रेस र एमालेद्वारा तोकिएका तत् समितिका संयोजकलाई थप क्रियाशीलता भई कार्य गर्न आग्रह गर्ने निर्णय पनि भएको छ ।

कांग्रेस र एमालेको कार्यदलको अर्को बैठक पुस २४ गते बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

समितिहरूमा बिचाराधीन विधेयकलाई पारित गराउन भूमिका खेल्न एमालेले सांसद रद्युजी पन्तलाई राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका विधेयकबारे छलफल र समन्वय गर्ने जिम्मेवारी दिएएको छ । अर्थ समितिमा रहेका विधेयकमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्यबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

एमालेले सांसद नैनकला थापालाई कानून न्याय तथा मानवअधिकार समितिमा रहेका विधेयकउपर पहल गर्ने जिम्मेवारी दिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका विधेयकउपर पहल गर्ने जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाएको एमालेले जनाएको छ । सांसद गोकर्ण विष्टले पूर्वाधार समितिको जिम्मेवारी पाएका छन् ।

संसद सचिवालयमा २० विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा १५ र राष्ट्रियसभामा ५ वटा विधेयक छन् ।

Published : Thursday, 2025 January 2, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया