एमालेका जिल्ला कमिटी सदस्यविरुद्ध पक्राउ पुर्जी, पाेखरेलले स्वकीय सचिवबाट पनि हटाए
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिलकुमार पोखरेललाई स्वकीय सचिव पदबाट हटाएका छन् ।
शुक्रबार सभापति पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिव अनिलकुमारलाई हटाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
स्वकीय सचिव पदबाट हटाइएका अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटीका सदस्य पनि हुन् । अनिलकुमार पोखरेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी लिन समेत मानेको थिएन ।
स्वकीय सचिव अनिलकुमारले बौआलाल चौधरीको छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई ३८ लाख ८० हजार रुपियाँ लिएको अभियोग लागेको छ ।
बौआलाल चौधरीको छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर अनिलकुमारले ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए ।
अनिलकुमारलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत मोरङले प्रहरीलाई अनुमति दिएको छ । त्यसपछि सभापति पोखरेलले प्रहरीलाई अनुसन्धानमा सहयोग होस् भनेर आफ्ना स्वकीय सचिव अनिलकुमारलाई हटाएका हुन् ।
इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङले चौधरीको जाहेरी लिन मानेको थिएन । जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्नका लागि प्रहरीलाई चिठी लेख्न अस्वीकार गरेको थियो ।
अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया