डोल्पा कांग्रेसका सभापति फरार, गगन थापाको समितिद्वारा क्रियाशील सदस्यताबारे बोल्ड निर्णय
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य योगेन्द्र चौधरीले बताएका छन् । उनले क्रियाशील सदस्यताको नवीकरण चैत्र महिनाभित्र सक्नुपर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका समिति सदस्य चौधरीले भने, ‘क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको छ ।’
क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय समितिले गरेको छ ।
समितिले डोल्पा जिल्लामा क्रियाशील सदस्यताको नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको छ । डोल्पा कांग्रेसका सभापति दीपेन्द्र शाही चेक बाउन्स, ठगी लगायतका विभिन्न काण्डमा परेर फरार छन् । सभापति शाही फरार भएपछि डोल्पा कांग्रेसको जिम्मेवारी उपसभापतिले लिएका छन् ।
सभापति शाहीविरुद्ध चेक बाउन्स लगायत विभिन्न काण्डमा प्रहरीमा उजुरीहरू छन् । शाही लुकेर भाग्दै हिँड्ने गरेका छन् । सभापति शाही पेशाले ठेकेदार हुन् ।
महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् । समितिले क्रियाशील सदस्यतामा देखिने विवाद समाधान गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया